काठमाडौं– काठमाडौंमा मसाज सेन्टर सञ्चालन गरी युवती तथा किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उक्त स्पा सेन्टरबाट २ नाबालिका र १ युवतीलाई उद्धार गरिएको जनाएको छ।
उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो।
ब्यूरोका अनुसार पौडेलले युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेका थिए। मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जाल मार्फत आफन्तलाई पठाईदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।
रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरिएको पनि अनुसन्धानबाट खुल्न आएको छ।
पक्राउ परेका पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।