काठमाडौं– सुनसरीको रामधुनी मन्दिर जाने मुल सडक पिच (कालोपत्र) गर्ने ठेक्कामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
रामधुनी नगरपालिका–३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडकअन्तर्गत सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्र गर्दा वास्तविक रुपमा भएकोभन्दा बढी काम गरेको भन्दै बिल बनाएर भुक्तानी लिएको पाइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र सव-इन्जिनियर हर्षलाल चौधरीले झुटा विवरण पेस गरी २ लाख १२ हजार ७३ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको देखिएको छ। अख्तियारले उनीहरुविरुद्ध जनही २ लाख १२ हजार ७३ रुपैयाँ बराबर बिगो र बिगोअनुसार जरिवाना तथा कैद सजाय मागदाबी गरेको छ।
यस्तै, नगरपालिकाका तत्कालीन उपमेयर सविना कुमारी चौरधी, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौं तहका सुनील कुमार चौधरीलाई पनि प्रतिवादी बनाएको छ। उनीहरुले अनुगमन तथा मूल्याङ्कन समितिमा रही स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी निर्णय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ।
साथै उक्त सडक कालोपत्र गर्ने ठेक्का लिएको जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत) विरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।