काठमाडौं– काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ। काठमाडौं जिल्ला अदालतको मुख्य सडकमा आधुनिक प्रविधि सहितको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो।
काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँको लागतमा उक्त लाइट सञ्चालनमा ल्याएको हो। उक्त लाइट सोमबारदेखि सञ्चालनमा ल्याइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलका अनुसार पैदलयात्रुले बटन थिचेपछि ट्राफिक लाइटले बाटो काट्नका लागि हरियो बत्तीको संकेत (सिग्नल) दिनेछ। पैदलयात्रुले बटन थिचेको ५ सेकेन्डपछि मात्रै बाटो काट्ने संकेत, हरियो बत्ती बल्नेछ।
पैदलयात्रुले बटन थिचेपछि बलेको हरियो बत्ती ३० देखि ३५ सेकेन्डसम्म कायम रहनेछ। पैदल यात्रुले ३० सेकेन्डभित्र सडक पार गरिसक्नु पर्नेछ।
यद्यपि सुरुवाती अवस्थामा पैदलयात्रुलाई अभ्यस्त हुन भने केही समय लाग्ने देखिएको डीआईजी पोखरेलको भनाइ छ। पैदलयात्रुले प्रयोग गर्न नजान्दा वा गलत प्रयोग गर्दा लाइटका कारण दुर्घटना हुने जोखिम समेत छ।
नयाँ प्रविधियुक्त ट्राफिक बत्ती जडान गरिएको ठाउँमा पैदलयात्रुको अत्यधिक चाप रहन्छ। बिजुलीबजारदेखि माइतीघर जोड्ने सडकअन्तर्गत काठमाडौं जिल्ला अदालतका इजलास नै वार–पारको भवनमा सञ्चालनमा छन्। जसका कारण अदालतका कर्मचारी र सेवाग्राहीले पटक–पटक उक्त ठाउँमा सडक पार गर्नुपर्ने बाध्यता छ।
सडक पार गर्ने क्रममा काठमाडौं जिल्ला अदालतका कर्मचारीहरु नै धेरैपटक दुर्घटनामा परेका छन्। काठमाडौं जिल्ला अदालतले उक्त समस्याको समाधानका लागि भन्दै केही समग अगाडि काठमाडौं महानगरपालिकालाई पत्र समेत लेखेको थियो।
पैदलयात्रुले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक बत्ती अल्पकालीन समाधान भए पनि दीर्घकालीन समाधानका लागि उक्त क्षेत्रमा पुल वा अन्डरपास बनाउनुपर्ने सरोकारवालाहरुको भनाइ छ।
बागमती प्रदेश सभाका सांसद दीपेन्द्र श्रेष्ठ अल्पकालीन रुपमा जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिए पनि दीर्घकालीन रुपमा त्यो अर्थपूर्ण नहुने बताउँछन्। त्यसका लागि जनप्रतिनिधिहरुले अण्डर पास वे बाटो बनाउने तयारी गरिरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।