काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनअघि पर्याप्त तयारी गर्नुपर्ने बताएका छन्। आगामी वैशाख ९ र १० गते आयोजना हुने लगानी सम्मेलन निर्देशक समितिको आइतबार अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री महतले विगतका लगानी सम्मेलनभन्दा फरक हुने गरी र बढी लगानीकर्ता आकर्षित गर्न सम्मेलन हुने बताए।
‘यस पटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौँ। यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौँ,’ अर्थमन्त्री महतले भने।
सम्मेलनमा धेरै सङ्ख्यामा सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको पनि उनको भनाइ छ। ‘सरकारले दुईपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको छ। यस पटकको लगानी सम्मेलनको उद्देश्य सक्षम लगानीकर्तासमक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने तथा लगानी प्रतिबद्धतालाई निरन्तर छलफलपछि लगानी स्वीकृतिको चरणसम्म पुर्याउने हो,’ अर्थमन्त्री महतले भने।
स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ। ‘लगानी सम्मेलनका लागि तयारी थालिएको छ। यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो। लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ,’ अर्थमन्त्री महतले भने।
लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ। लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’ मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री महतले निर्देशन दिए।
आज बसेको निर्देशक समितिको पहिलो बैठकमा पर्यटनमन्त्री सुदन किराँतीले सहज लगानी वातावरण बनाउन विद्यमान ऐन कानुन र काम गर्ने शैली बाधक भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए। नेपालमा भूराजनीतिक स्वार्थले पनि लगानी आउने र मध्यपूर्वी राष्ट्रलाई प्राथमिकतामा राख्नेमा उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।