काठमाडौं- राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिम र जाजरकोट जिल्लाको स्थलगत अनुगमन गर्ने भएको छ। समितिका सभापति दिलकुमारी थापा रावल(पार्वती)को नेतृत्वमा संसदीय प्रतिनिधिमण्डल स्थलगत अनुगमनका लागि त्यसतर्फ जाने भएको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्प प्रभावितका लागि राहत वितरण र पुनर्स्थापनाका लागि अहिलेसम्म भइरहेका प्रयासहरु र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा सुझाव दिन स्थलगत रुपमा नै सरोकारवालासँग छलफल गर्न समितिलाई निर्देशन दिएका थिए।
तिमिल्सिनाको निर्देशनपछि भूकम्प प्रभावित जिल्लाको वर्तमान अवस्थामा पीडितले के कस्ता समस्या भोग्नु परेको छ र समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने उद्देश्यले समितिले स्थलगत अनुगमन गर्न लागेको सभापति रावलले जानकारी दिइन्।
समितिले दुवै जिल्लाका सदरमुकाममा पुगेर स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, रेडक्रस, स्काउट लगायत भूकम्प प्रभावितको राहत र उद्दारमा खट्ने सरोकारवालासँग राहत वितरणको अवस्था, कहाँकहाँ समस्या छ, पर्नस्थापनाका प्रयास केके भएका छन्, न्यूनतम राहत पुगेको छ कि छैन, वितरणको समन्वय कसरी भइरहेको छ भनेर छलफल गर्ने कार्यक्रम छ।
उक्त संसदीय टोलीले जाजरकोट जिल्लामा सोमबार र मंगलबार रुकुम पश्चिमका जिल्लामा अन्तर्क्रिया गर्ने संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।