काठमाडौं- सुदूरपश्चिमको जाजरकोट भएर गएको शक्तिशाली भूकम्पको असरबाट बाहिर निस्कन नपाउँदै बिहीबार मध्यरातमा मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ।
मध्यरातमा निद्रामा रहेका मानिसहरुलाई डर देखाउँदै १ बजेर १९ मिनेट जाँदा काठमाडौं सहितका क्षेत्रमा धक्का महसुस भएको थियो। उक्त धक्कापछि धेरै मानिस बाहिर समेत निस्केका थिए।
सुदूरपश्चिममा मध्यरातमा भूकम्प गएर क्षति भएको र काठमाडौंसहित धक्का महसुस भएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्केका थिए। भूकम्प ४.५ म्याग्निच्युडको मात्र भएका कारण कुनै क्षति भएन।
तर, मध्यराति गएको यो धक्का नयाँ नभएको भूकम्पविदहरुको दाबी छ। सुदूरपश्चिममा नयाँ भूकम्प गएको भए पनि काठमाडौं वरिपरि २०७२ सालमा गोरखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पकै परकम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बताए।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। शनिबार दिउँसो १२ बजे गएका कारण मानवीय क्षति धेरै नभए पनि भौतिक क्षति धेरै भएको थियो।
उनले सुदूरको भूकम्पसँग मकवानपुरको कुनै सम्बन्ध नभएको पनि दाबी गरे। उनले यो भूकम्प नियमित रुपमा गइरहने प्रकृतिको भएकाले आत्तिनु नपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।