अनेरास्ववियुका अध्यक्ष समिक बडाल (फाइल तस्बिर) काठमाडौं– मंसिर ७ गतेको भेलाका लागि आएका महिलाहरु मध्यराति पार्टी प्यालेसबाट निकालिएको घटनामा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संलग्नता नरहेको जनाएको छ।
मंसिर ७ गते काठमाडौंको तीनकुनेमा हुन गइरहेको भेलाको आयोजकमध्ये एक उक्त संगठनले उक्त घटनालाई मानवता विरोधी कार्यको संज्ञा दिएको छ।
घटनाका सन्दर्भमा अनेरास्ववियुका अध्यक्ष समिक बडालद्वारा विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, अनियमितता नियन्त्रणमा सरकारको अकर्मन्यता तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने गतिविधिहरु विरुद्ध युवा विद्यार्थी विशेष प्रदर्शनको सम्मुखमा महिला आमा, दिदी बहिनीहरुमाथि भएको अमानवीय र अशोभनिय ज्यादतिको भिडियो सामाजिक सञ्जालमा आइरहेकोमा उक्त मानवता विरोधी कार्यमा आयोजकको हिसाबले अनेरास्ववियुको कुनै संलग्नता नरहेको जानकारी गराउन चाहन्छौँ।’
उक्त घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जोकोही भए पनि कानुन बमोजिम कडा कारबाही अगाडि बढाउन अनेरास्ववियुले माग गरेको छ। लोकतान्त्रिक ब्यवस्थामा सबैलाई आफ्नो कुरा राख्ने, बोल्ने अधिकार हुनाले अनेरास्ववियु कुनै पनि अराजकतालाई समर्थन नगरी केवल जनताको आवाज बुलन्द गर्न मात्र सडकमा अएको विज्ञप्तीमा जिकिर गरिएको छ।
![ANFSU_Release_about_women-1700640019.png](https://nepallive.net/uploads/posts/ANFSU_Release_about_women-1700640019.png?timestamp=1700640022520)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।