काठमाडौं– दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई मध्यरातमा लखेट्ने व्यक्ति युवाका नेता रहेको खुलेको छ। लोकन्थलीको एक पार्टी प्यालेसमा बसेका महिलाहरुलाई लखेट्ने व्यक्ति एमालेको भ्रातृ संगठन युवा संघका सचिवालय सदस्य विनोद राई रहेको खुलेको हो।
राई सहितको समूहले मंगलबार राति सुतिरहेका महिलाहरुलाई अमानवीय व्यवहार गर्दै लखेटेको थियो।
महिलाहरुलाई लखेट्ने खोटाङ घर भएका विनोद राईले नै यसअघि दुर्गा प्रसाईंलाई कालोमोसो दलेको समेत पाइएको छ। काठमाडौंका एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा राईले प्रसाईंमाथि कालोमोसो दलेका थिए।
सुतिरहेका महिलालाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै राईको समूहले लेखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले लखेटेको देखिएको छ। जहाँ एक जना कार्यकर्ताले भनेको सुनिन्छ, ‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्यो भनेर।’
फेरि प्रश्न गर्छन्, ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हैन?’
महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको भिडियोमा देखिन्छ। त्यसैगरी उनीहरु एकरात मात्रै बस्न दिन आग्रह गरिरहेका छन्।
महिलाहरु इटहरीबाट उपत्यका आएको पनि भिडियोबाट बुझ्न सकिन्छ। त्यहाँ युवा संघका कार्यकर्ताले ‘देखाइदिन्छौं’ भन्दै आएको भन्दै आफूले देखाइदिने समेत भनिरहेका छन्।
उक्त भिडियो सार्वजनिक भएपछि लोकतन्त्रमा विरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको एमाले सम्बद्ध कार्यकर्ताले हनन गरेको भन्दै आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।