काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र यस वर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ। काठमाडौं महानगरपालिकाले राति १ बजेसम्म देउसी–भैली खेल्न पाउने गरी सुरक्षा लगायतको प्रबन्ध गरिएको बताएको छ।
विगतका वर्षहरुमा कोभिड महामारी लगायतलाई कारण देखाउँदै स्थानीय प्रशासनले काठमाडौंमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्ने अनुमति दिँदै आएको थियो। तर यस वर्ष भने १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षाका लागि गस्तीको व्यवस्था मिलाइएको काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन्।
‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन अनुरोध गर्दछौं,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्।
मेयर शाहले राति १ बजेसम्म देउसी भैलो खेल्न मिल्ने गरी सुरक्षाको प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।