काठमाडौं– शुक्रबार राति र त्यसपछि गएको भूकम्पबाट पीडित भएकाहरुका लागि जाजरकोटमा जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण संकलन र राहत तथा पुनर्स्थापना कार्य सँगै सुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार वडास्तरबाट भौतिक क्षतिको विवरण संकलन सुरु भएको छ भने मानवीय क्षतिसँगै घरविहीन भएका परिवारहरुलाई वास, गाँस र लत्ता कपडाको व्यवस्था मिलाउन सक्रिय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।
उनले जिल्लामा धेरै क्षति भएको र विकट स्थानहरुमा समेत क्षति भएकाले कठिन भइरहेको उनले बताए। ‘हामी सबै विवरण संकलन, उद्धार अनि पुनर्स्थापना गर्ने कोसिसमा लागि रहेका छौं। जनता अहिले पनि खुला आकाशमा बसेका छन्,’ उनले भने, ‘अब त्रिपाल र स्लिपिङ ब्यागहरुसहित राहतका सामग्रीहरु प्राप्त हुन थालेका छन्। सबैलाई बाससहित अन्य व्यवस्था गर्नतिर जनशक्ति केन्द्रित गरेका छौं।’
जिल्ला प्रशासनका सूचना अधिकारी हरिश्चन्द्र शर्माले भौतिक क्षतिको विवरण संकलन वडास्तरवाट सुरु गरिएको र केही दिनमै एकिन तथ्यांक आउने बताए। उनले अहिले दुर्गममा केन्द्रित भएर खोजी, उद्धार र राहतमा लागेको जानकारी दिए।
सूचना अधिकारी शर्माका अनुसार भौतिक क्षतिको विवरण आएपछि राहत र पुनर्स्थापनाको कार्य अघि बढ्ने छ। शुक्रबार गएको भुकम्प र त्यसपछि आएका स साना धक्काले क्षति पुर्याउने क्रम जारी रहेको र आज पनि भूकम्पका थप धक्का आएकाले सचेत हुनुपर्ने अवस्था रहेको भन्दै जिल्ला प्रशासनले भूकम्प पीडितको खोज तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ।
कात्तिक १७ गते राति बारेकोट गाउँपालिका केन्द्र बिन्दू भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जिल्लामा १०५ जना व्यक्तिको निधन भएको र करिब १५० जना घाइते भएका छन्।
‘मध्य रातमा गएको उक्त भूकम्पलगत्तै यस कार्यालय र जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुको तत्काल बैठक बसी सबै सुरक्षा प्रमुखहरुसहित सुरक्षाकर्मीहरुलाई घटनास्थलतर्फ खोजी र उद्धार कार्यमा परिचालन गरिएको र उद्धारको कार्य अहिले पनि जारी रहेको छ,’ सूचना अधिकारी शर्माले भने, ‘रातको समयमा गएको भूकम्पले धेरै क्षति हुन पुगेको र कतिपय स्थानहरुमा सञ्चारका साधनहरुले समेत काम नगर्ने भौगोलिक कठिनाईको अवस्था विद्यमान रहेकाले थप चुनौती थपिएको छ।’
यद्यपि सबै सरोकारवाला नियकायहरुबीचको समन्वय तथा सुरक्षाकर्मीहरुको उच्च मनोबल तथा निष्ठाका साथ भएको सक्रियताले समयमै खोज तथा उद्धार कार्य गरिएको र अझै पनि सो कार्य जारी नै रहेको उनले बताए।
सबै घाइतेहरुको अवस्थाअनुसार उपचारको प्रबन्ध भइसकेको र साथै जिल्लामा धेरै मात्रामा घरहरु भत्किएको तथा चर्किएको भन्ने जानकारी प्राप्त भएको र सो को तथ्यांक संकलन गर्ने प्रक्रियासमेत अगाडि बढाइसकिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।