काठमाडौं- संसद्को वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ। बिहीबार बिहान ११ बजे प्रतिनिधि सभाको वर्षे अधिवेशनको अन्तिम बैठक बस्ने बताइएको छ।
बुधबार सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। जसमा बिहीबार बिहानको प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने लगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो।
संसद अधिवेशन अन्त्यका लागि औपचारिक रुपमा पत्र प्राप्त नभए पनि अनौपचारिक रुपमा अधिवेशन अन्त्यको जानकारी आएको संघीय संसद्का प्रवक्ता एकराम गिरीले बताए। अधिवेशन अन्त्यको दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु टेबुल गरिने, सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको सूचना सभाको स्वीकृतिको लागि पेस गर्ने लगायतका कार्यसूची रहनेबारे छलफल भएको प्रवक्ता गिरीले जानकारी दिए।
प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक विचाराधीन पारित हुन बाँकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।