काठमाडौं- व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका रिगल भनिने योगराज ढकाललाई दिइएको माफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बिहीबार फैसला सनाउँदैछ। बुधबार बहस सकिएपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा भइरहेको सुनुवाइमा सरकारी पक्षले बहस गरिरहँदा समय नपुगेपछि मंगलबार हेर्दाहेर्दै राखिएको थियो।
बुधबार सरकारी वकिल, प्रतिवादी र निवेदकहरुले जवाफी बहस गरेका थिए। बहस सकिए पनि फैसलाका लागि समय नपुगेपछि आजका लागि निसु तोकिएको हो। भारती शेर्पाले दायर गरेको रिटमा निवेदकको बहस भइरहेको थियो।
आज हुने फैसलाले रिगललाई पुन: थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने भन्नेबारे निर्क्योल गर्नेछ। यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्यो भने रिगल पुन: पक्राउ पर्नेछन्। उनलाई बाँकी कैदका लागि थुनामा राखिनेछ।
रिगलले २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए। उनलाई जिल्ला,उच्च र सर्वोच्च तीनै तहको अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
घटनामा संलग्न छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३/३ वर्ष कैद सजाय भएको थियो।
जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै चेतनकी पत्नी भारतीले कसुरदारलाई पुनः कैद गरिपाउँ भनी रिट दायर गरेकी थिइन्।
उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको इजलासले असोज १९ मा प्रारम्भिक सुनुवाइ गर्दै असोज २५ देखि पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर मुद्दाको शीघ्र टुंगो लगाउनु भनी आदेश गरेको थियो। त्यसअनुरूप असोज २५ मा प्रधानन्यायाधीश श्रेष्ठ सहितको इजलासमा मुद्दाको पेसी चढेर त्यसमाथि प्रारम्भिक बहस पनि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।