काठमाडौं– सर्लाहीमा मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अवुल कलाम आजाद (फुलबाबू) को गाडीको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
जिल्लाको बरहथवा नगरपालिका-९ मुक्तेश्वर चौकस्थित मंगलबार साँझ करिब ७ बजे बरहथवाबाट नयाँरोडतर्फ जाँदैगरेको मधेश प्रदेश ०२ ००१ झ ०२४० सरकारी नम्बर प्लेटको जिप (स्कोरपिओ) र विपरीत दिशाबाट आउदैगरेको बा ४३ प १२६३ नम्बर प्लेटको मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकल सवार बरहथवा नगरपालिका-५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका-५ का १८ वर्षीय दीपक महतो र बागमती नगरपालिका-१० शंकरपुरका १९ वर्षीय अजय महतो गम्भीर घाइते भएका छन्।
घाइते तीनै जनामध्ये दीपकको टाउकोमा ठूलो चोट लागेकोले उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। उनका अनुसार घाइते तीनैजनाको उपचार बिरगंजको एलएस न्यूरो हस्पिटलमा भइरहेको छ।
सरकारी गाडीमा सवार सबैजना दुर्घटना स्थलबाट फरार भएका छन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार सरकारी गाडीमा सवारहरुले मदिरा पिएका थिए।
मन्त्रीकै गाडीले ठक्कर दिएर घाइतेको उद्धार गर्नुको साटो उल्टै घाइतेलाई अलपत्र छाडेर भागेपछि आक्रोशमा आएर स्थानीयले गाडी तोडफोडसमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।