काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट छिटो पारित गर्नुपर्ने बताए।
शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउन पनि सो विधेयक संसद्बाट पारित गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो।
बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने पनि बताए।
तत्कालीन द्वन्द्वरत पक्षहरु गम्भीर नभएकै कारण शान्ति प्रक्रियाको बाँकी कामअझै टुंगोमा पुग्न नसकेको बताए।
अध्यक्ष यादवले भने, ‘शान्ति प्रक्रियालाई अन्तिम टुंगोसम्म पुर्याउनका लागि विगतमा सम्झौताहरु भइसकेका छन्। र, यो प्रक्रियालाई टुंग्याउन धेरै ढिलो भयो। त्यसका लागि दुइटा कुरा: एउटा, विगतका सहमतिलाई कार्यान्वयन गर्ने। जुन काम सबै दलले मिलेर गरेको हो। अर्को के हो भने चाँडै नै संक्रमणकालीन न्याय (टिआरसी) लाई र बेपत्ता आयोगलाई मूर्तरुप दिएर टिआरसीको ऐनहरु पास गरेर त्यसलाई कार्यान्वयनमा लैजानु पर्छ। र, यसलाई चाँडै टुंग्याउनु पर्छ।’
अध्यक्ष यादवले शान्ति पक्रियालाई टुंगोमा पुर्याउन बेपत्ता छानबिन आयोगको कामलाई पनि छिटो अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।