काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा रहेको भए पनि सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको दाबी गरेका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकमा सम्बोधन गर्दै उनले विदेशी मुद्राको सञ्चिती, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा प्रगतितिरै रहेको बताए।
‘तर अर्थतन्त्र अझै पनि दबाबमुक्त भइसकेको छैन’, उनले भने, ‘अर्थतन्त्रको दबाब हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ।’
प्रधानमन्त्री प्रचण्डले सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने आफूलाई राम्रोसँग हेक्का रहेको बताए। त्यसैले छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्न लागिएको उनले बताए।
‘मैले नै त्यसको अध्यक्षता गर्छु। उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टिम बनाएर सोही बमोजिम नीति र कार्यक्रम बनाउँछौं’, उनले भने।
प्रचण्डले बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको बताए। भने, ‘परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न सक्दैन। नीति कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ।’
उनले लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल, अन्तरक्रिया र संशोधन हुने बताए। 'तसर्थ, आगामी वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ', उनले भने, ‘पहिला नीति, कार्यक्रम प्रस्तुत गर्ने, त्यसमाथि संसद्भित्र र बाहिरसमेत गम्भीर बहस गरेर मात्र संशोधनसहित पारित गर्नुपर्छ। बजेट पनि प्रस्तुत हुनेबित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्छ। यसपटक हामी बदल्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।