काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन्।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड अपरान्ह पौने ३ बजेतिर सहभागी भएका हुन्।
चियापान कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समावादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुंगाना, विभिन्न राजनीतिक दलका नेताहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरुसहितको बाक्लो उपस्थिति रहेको थियो।
एमालेले बडादशैंलगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ। यसवर्ष (हिजो) कात्तिक १४ गते आयोजना गरिएको सो कार्यक्रम संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिन पछि (आज) सारिएको हो।
चियापान कार्यक्रममा एमालेका नेता, कार्यकर्ताहरुको घुइँचो लागेको छ। अध्यक्ष ओलीलाई भेट्न ज्येष्ठ नागरिकहरु पनि उत्साहका साथ कार्यक्रममा सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।