काठमाडौं– जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले समानुपातिक निर्वाचन प्रणाली महिलाहरु मात्रै निर्वाचित हुनेगरी बनाइएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समानुपातिक निर्वाचन प्रणाली महिलाहरु मात्रै भर्ना हुने किसिमले बनाइएको बताएका हुन्।
उनले वर्तमान प्रणालीले गर्दा जुनसुकै समूहबाट पनि महिला मात्रै जानुपर्ने अवस्था रहेको उल्लेख गरे। उनले महिलाहरु प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने मान्यता बनाइएको भन्दै यसरी कानुनी रुपमा नै विभेद भइरहेको बताए।
उनले भने, ‘निर्वाचन आयोगलाई यसमा कानुनले अलि बढी पावर दिएर, साँच्चै हामीले स्वच्छता चाहेको हो भने निर्वाचन खर्चलाई कम गराउन खोज्ने हो भने यस्ता प्रणालीहरु नअपनाइ सम्भव हुँदैन। समानुपातिक निर्वाचन प्रणाली महिलाहरु मात्रै भर्ना हुने किसिमको बनाइएको छ। महिलाहरुले प्रतिष्पर्धा गर्न सक्दैनन् भन्ने मान्यता बनायौं। कानुनले नै विभेद गरिराखेको स्थिति छ।’
उनले महिला, दलित, पिछडिएको क्षेत्र लगायतलाई प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै आरक्षण दिनुपर्ने बताए। स्वच्छ निर्वाचन गर्नका लागि निर्वाचन आयोगलाई कानुनी रुपमा अझै अधिकार सम्पन्न बनाउनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।