काठमाडौं– सरकारले तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ।
यसवर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएकाले भारतीय माला आयातमा रोक लगाएको बागमती प्रदेश पुष्प विकास केन्द्रले जनाएको छ।
केन्द्रले कात्तिक १ गतेदेखि नै आयातमा रोक लगाइएको जनाएको छ। नेपालमा तिहारमा अत्यधिक मात्रामा सयपत्री फूलको मालाको माग हुने गर्दछ।
हिउँदको समयमा मौसमको प्रतिकूलताको कारण उत्पादनमा कमी हुने भएका कारण स्वदेशी उत्पादनले माग पूरा नहुने भएकाले भारतीय सयपत्री मालाको आयात गर्नु परिरहेको थियो।
तर, यसवर्षको तिहारमा अर्को निर्णय नभएसम्मको लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको केन्द्रले जनाएको छ।
इजाजतपत्र बेगर आयात गरिएका वस्तु अवैध हुने तथा यसवर्ष सरकारी तथा निजी संस्थाहरुको संयन्त्रबाट अनुगमन कडा गरिने भएको छ। अवैध सामग्री भेटिएमा कानुन बमोजिम जफत तथा दण्ड सजायसमेत गरिने केन्द्रको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।