काठमाडौं– चोरी, डाँका र लागु औषधजस्तो फौजदारी मुद्दाका कुख्यात व्यक्ति राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त हुँदै पुनः अपराधमा लागेको खुलेको छ। विभिन्न अपराधमा पटक–पटक पक्राउ पर्दै जेल गएका चितवनको भरतपुर महानगरपालिका–९ बस्ने ५५ वर्षीय रामचन्द्र थापा असल चालचलन भएको भन्दै राष्ट्रपतिबाट कैद कट्टा गरेर जेलमुक्त भएर पुन अपराधमा लागेको खुलेको हो।
भरतपुर–१ का सोमराज सुवेदीलाई अपरहण गर्ने धम्की दिँदै २५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा चितवन प्रहरीले हेटौंडा घर भई चितवन बस्दै आएका थापालाई पक्राउ गरेको छ। गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते मात्रै असल चाल चलन भएको भन्दै राष्ट्रपतिबाट कैद कट्टा गरेर रिहा भएका थापा अहिले पुनः अपहरण गरेर ज्यान मार्ने धम्की दिँदै फिरौती माग गरेको आरोपमा पक्राउ परेका हुन्।
कात्तिक ८ गते उनले साँझ साढे ५ बजेतिर सोमराजलाई एनसेलको नम्बरबाट फोन गर्दै धम्की दिँदै २५ लाख रुपैयाँ फिरौती माग गरेका थिए। पटकपटक फोन गर्दै हिन्दी भाषामा धम्की दिँदै उनले २५ लाख रुपैयाँ फिरौती माग गरेपछि सोमराज प्रहरीकोमा पुगेका थिए।
२५ लाख रुपैयाँ नदिई सोमराजको छोराको समेत हत्या गर्छु भन्दै उनले धम्की दिएका थिए। त्यसपछि चितवन प्रहरीका इन्स्पेक्टर उमाशंकर प्रसाद शाहको कमाण्डमा खटिएको टोलीले भरतपुर–१० स्थित मालपोत चोकबाट थापालाई पक्राउ गर्न सफल भएको थियो।
उनीविरुद्ध यसअघि पनि पटकपटक विभिन्न कसुरमा मुद्दा समेत चलेको पाइएको छ। २०६६ जेठ २७ गते चोरी सम्बन्धी कसुरमा चितवन प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको थियो।
त्यसैगरी २०६६ असार ३ गते चितवन प्रहरीले नै उनीविरुद्ध हतियार देखाउँदै डाँका गरेको कसुरमा पनि मुद्दा चलाएको थियो। २०७३ वैशाख २२ गते प्रहरी वृत्त सातदोबाटोले उनलाई लागुऔषध सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो।
२०७५ मंसिर १३ गते भने डाँकासम्बन्धी कसुरमा चितवन प्रहरीले थापा विरुद्ध मुद्दा चलाएको अनुसन्धानबाट खुलेको छ। जिल्ला अदालत चितवनबाट ९ वर्ष कैद सजाय तोकिएका उनी गत जेठमा गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गर्दै असल चालचलन भएको भन्दै राष्ट्रपतिबाट बाँकी कैद कट्टा गर्दै रिहा भएका थिए। रिहा भएको केही महिनापछि थापा पुनः आफ्नो पुरानो अपराधको धन्दामा लागेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।