काठमाडौं– प्राविधिक समस्या देखिएपछि सशस्त्र प्रहरी बलको पेट्रोल पम्पको एउटा नोजल भोलि (बिहीबार) सम्मका लागि बन्द गरिएको छ।
डिजेलको नोजलबाट प्रतिलिटरमा केही एमएल कम फालेको भन्दै प्राविधिक बोलाएर भोलि बिहान समास्या समाधान गर्नुपर्ने भएकाले बिहानसम्म नोजल बन्द गर्ने सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको पेट्रोल पम्पमा परिमाणभन्दा कम डिजेल बिक्री गरिएको भन्दै गुनासो आएपछि केन्द्रीय अनुगमन टोलीले अनुगमन गरेको थियो। उपभोक्तालाई कम मात्रामा डिजेल बिक्री भएको गुनासोपछि बुधबार गरिएको अनुगमनमा तोकिएकोभन्दा कम डिजेल बिक्री हुने गरेको पाइएको थियो।
अनुगमन पनि सशस्त्रले सञ्चालन गरेका स्वयम्भूस्थित हलचोक फ्यूल सेन्टर र कलंकीको श्यामा पेट्रोल पम्प सिल गरिएको छ। यता सशस्त्र प्रहरीले भने सानो प्राविधिक समस्या मात्र भएकाले एउटा नोजल बन्द गरिएको बताएको छ।
साथै २० दिनअघि मात्रै पेट्रोल प्रतिलिटरमा ५० एमएल बढी फालेको पाइएको एपिएफले बताएको छ। नापतौल विभागबाट आएका प्रतिनिधिले समाधान गरेको र अहिले डिजेल प्रतिलिटरमा दुई एमएल कम फालेको र यो सामान्य प्राविधिक समस्या भएको सशस्त्रले बताएको छ।
यसपछि डिजेलको एउटा नोजल मात्र भोलि बिहानसम्मका लागि बन्द गरिएको र भोलि बिहान नापतौल विभागबाट प्रतिनिधि आएपछि त्यो समस्या पनि हटाइने सशस्त्रले बताएको छ।
पाँच लिटरमा पनि ६ पटक गरेर ५/५ लिटरमा हेर्दा चार पटक बढी डिजेल फालेको र दुई पटक कम फालेपछि बिहान प्राविधिक बोलाएर समाधान गर्ने कुरा भएको सशस्त्रको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।