दशैंलाई भारत र नेपालको मधेसमा विजयादशमी भन्छन्। विजयादशमी भनेको रामले रावणलाई जितेको पर्व हो। तर नेपालको पहाडी खण्ड र नेपाल मण्डलमा विजयादशमी भनिँदैन, बडा दशैं भनिन्छ।
हामी चैते दशैं र बडा दशैं भनेर दुई वडा दशैं मनाउने गर्छौं। यो बडा दशैं हो। बडा दशैंमा रामलिलाको कुरा हुँदैन। दुर्गाको पूजा हुन्छ। त्यो कुरा सबैले बुझ्न जरुरी छ। त्यसैले हामीले विजयादशमी होइन बडा दशैं भन्नुपर्छ।
दशैं नेपालको राष्ट्रिय चाड हो। किनभने, सम्पूर्ण मधेस र नेपालको पहाडी खण्डमा जमरा राखेर, टीका लगाएर दशैं मनाउने प्रचलन छ। तर हिमाली क्षेत्रमा पहाडको जस्तो जमरा राखेर टीका लगाउने प्रचलन छैन। तर त्यहाँ पनि देवीको पूजा गरिन्छ। लामा भाषामा देवीलाई पल्द्यान लामु भनिन्छ। पल्द्यान भनेको नेपाली भाषामा श्रीदेवी हुन्छ। उनीहरुले श्रीदेवीको पूजा गर्छन्।
अर्को शब्दमा दशैं भनेको सोल्टी उपसना हो। सोल्टी उपसना भनेको विभिन्न नेपाली सम्प्रदायहरुले आआफ्नो सनातन अनुसार दशैं मान्ने गर्छन्। प्रकृतिको पूजा हुन्छ। पुराना खुँडा, खुकुरी, कृषि औजार कुटो, कोदालो, आँसी (हँसिया) तान बुन्ने साधन सबैको पूजा हुन्छ।
अहिले दशैं सद्भावको रुपमा विकास भएको छ। विदेश गएकाहरु पनि दशैंमा घर आउने गर्छन्। नेपाल सरकारले पनि यसलाई विधिवत रुपमा मानेको छ। उहिले हाम्रो पालामा कर्म–कार्यमा दशैं पेस्की भनेर पनि दिने गरिन्थ्यो। पछि त्यसलाई कटाइयो। तर अहिले दशैं खर्च भनेर दिइन्छ। दशैं खर्च भनेर अहिले दर्जा अनुसार एक महिनाको तलब दिने गरिन्छ। दशैंमा सबैभन्दा लामो बिदा पनि हुन्छ।
दशैं धार्मिक पर्व कि सांस्कृतिक?
दशैं धार्मिकभन्दा पनि सांस्कृतिक पर्व हो। धर्म भनेको कोही हिन्दु धर्म मान्ने छन्। कोही बौद्ध धर्म मान्ने छन्। तर धर्म जे माने पनि हाम्रो संस्कृति एउटै हो। त्यसैले यो सांस्कृतिक पर्व हो। अहिले यो सद्भावको रुपमा विकास भएको छ।
दशैंले सबै नेपालीलाई मानसिक रुपमा मिलन गराएको छ। भारत र नेपालको मधेसमा दशैंलाई विजयादशमी रामलिला मनाउने गरिन्छ। त्यो भारतीय परम्परा हो। भारतमा परम्परागत चरित्र छैन। भारतमा आरायन छ। किनभने, त्यहाँ आरानले राज गर्यो। अंग्रेजले राज गर्यो। त्यहाँ कतिपय हिन्दु परम्परा हरायो।
भारतमा लोप भएका मान्यताहरु नेपालमा अहिले पनि यथावत छन्। हाम्रो खासगरी दुर्गा पूजा हो– जमरा राख्ने, टीका लगाउने अनि बली दिने। बलि दिएको पशुको मासु प्रसादको रुपमा ग्रहण गर्ने चलन छ। दशैंमा रमाइलो गर्ने, पिङ खेल्ने मानसिक सद्भावको रुपमा विकास भएको छ।
युद्धको मौलो
संसारमा अहिले पनि युद्ध रोकिएको छैन। नेपालमा पनि कुनै बेला युद्धको जमाना थियो। युद्धका योद्धाहरुलाई तालिम दिनुपथ्र्यो। अहिले पनि नेपाली सेनामा तालिम दिइन्छ। त्यो तालिम भनेको अहिले युद्धको मौलोलाई बुझ्नुपर्छ।
दशैंको मौलोमा विभिन्न पशुहरुको बध हुन्छ। त्यहाँ रक्तपात हुन्छ। त्यो रक्तपातलाई देखेर कोही पनि युद्धको मैदानबाट पिठ फर्काएर हिँड्दैनन्। शारिरीक रुपले, मानसिक रुपले उनीहरु तयार हुन्छन्। त्यहाँ पूजाका साथै बाजा पनि बजाइन्छ। नवराज लगाइन्छ। संगीतमय वातावरणमा युद्धको अभ्यास हुन्छ।
दशैं सकिएपछि नेवार समुदायमा पाया हुन्छ। पाया भनेको चालन हो। चालन भनेको शस्त्र चालन हो। बडा दशैंमा भोज खाएर जामा, फूलको माला लगाएर खड्ग लिएर आआफ्नो इलाकासम्म घुम्छन्। पहाडमा चाहिँ सराया खेल्ने चलन हुन्छ। सरायाको केन्द्रविन्दु अहिले अर्घाखाँची भएको छ। त्यहाँ बडा दशैं पछाडिको पूर्णिमाको दिनमा विशाल जनसागर हुन्छ सराया खेल्नेहरुको। बाजा बजाएर, हातमा तरबार लिएर युद्धको अभ्यास गरिन्छ।
यसलाई बहुपक्षीय रुपमा व्याख्या गर्न सकिँदैन। विविध पक्षलाई लिएर त्यसलाई व्याख्या गर्न सकिन्छ।
अन्तरसांस्कृतिक रुपमा दशैं
पहिला-पहिलाका सरकारी सञ्चार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजन हुन्। यी दुवै माध्यमले दशैंलाई हिन्दुहरुको एक मात्रै महान चाड भनेर भाष्य स्थापित गरे। तर अहिले रेडियो नेपाल र नेपाल टेलिभिजनले हिन्दुहरुको एक मात्र चाड दशैं भन्दैनन्। अहिले नेपालीहरुको चाड भन्छन्। दशैं त हिन्दु धर्मावलम्बीले पनि मानेको छ।
बौद्ध धर्म लगायत अन्य धर्मावलम्बीहरुले पनि मानेको हुन्छ। धर्म आ-आफ्नो भए पनि सांस्कृतिक र समन्वयको पर्व हो दशैं।
अहिले त कहाँबाट के कुरा आयो, कसैले दशैं बहिष्कार भन्ने अभियान चलाएका छन्। त्यसका लागि संगठन बनाएका छन्। यस्तो प्रकारको भावना आयातित हो।
(संस्कृतिविद् डा गुरुङसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीमा आधारित।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।