धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा लगाएको धान फलेन। धानका बोट सुकेका छन्। केही बोट रातो र पहेँलो भएका छन्।
साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुकेको उनको भनाइ छ। ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन’, उनले भने, ‘आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि बाली लागेको छैन।’
पुनर्वास नगरपालिका वडा नम्बर ५ का मोहन रानाले तीन बिघा जमिनमा धान खेती गरेका छन्। तर, अहिले धानमा बाली नलागेपछि उनले क्षतिपूर्तिको माग गरिरहेका छन्। साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो। डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुकेको उनको भनाइ छ।
‘बाढी पसेको दुई–तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो’, उनले भने, ‘तीन बिघाको पूरै धानमा बाली छैनन्।’ खेतमा जमेको पानीबाट गन्ध आउनु र पानी पनि कालो हुनुले दूषित पानीका कारण धानमा क्षति पुगेको उनको भनाइ छ। अन्नबाली नै उब्जनी नभएपछि अब खाद्यान्नको जोहो कसरी गर्ने उनको मनमा चिन्ता छ।
‘धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो’, किसान रामकिसन चौधरीले भने, ‘अब के खाने रु कसरी बालबच्चा पाल्ने? समस्या छ।’ उनले डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको बताए।
उनले अन्य वर्षमा पनि बाढी आउने गरेको तर, यसरी धानबालीमा नष्ट नपुर्याएको स्मरण गर्दै भने, ‘अरुबेला पनि बाढी आउँथ्यो, तर यस्तो क्षति गरेको थिएन। यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन।’
पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ। खेत नजिकै रहेको भागेश्वर सुगर मिलमा रहेकाले किसानहरुले मिलका कारण धानबालीमा क्षति पुगेको आशंका गरिरहेका छन्। सुगर मिलले सिमरी नाला छेउमै फोहोर राखेको र त्यही फोहोर नालामा मिसिएर खेतमा क्षति पुगेको हुन सक्ने किसान रमेश राना थारूले बताए।
कृषि ज्ञान केन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना संकलन गरी परीक्षण गरेको थियो।
‘परीक्षण रिपोर्टमा दुषित पानीका कारण धानबाली नष्ट भएको भन्ने उल्लेख छ’ कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, ‘तर, त्यो दुषित पानी कहाँबाट आएको हो भन्ने यकिन हुन सकेको छैन्। पुनर्वास नगरपालिकाले रिपोर्टसहित जिल्ला विपद व्यवस्थापन समितिमा पठाएको छ। सोही आधारमा संघ तथा प्रदेशबाट कृषकलाई राहात वितरण गरिने छ।’
उनका अनुसार दुषित पानीका कारण कृषकहरुको करौंडौ लगानीमा क्षति पुगेको छ।
क्षतिपूर्ति पाऊँ भन्दै नगरपालिकामा तालाबन्दी
धानबाली नष्ट भएपछि कृषकहरुले क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै पुनर्वास नगरपालिकामा तालाबन्दी गरेका छन्। बाढी पीडित तथा किसान संघर्ष समितिले नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेकाे हाे। स्थानीय भागेश्वर चिनीमिलको केमिकलबाट किसानको धान खेती नष्ट भएको भन्दै उचित छानबिन गरि किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दै तालाबन्दी गरेको जनाइएको छ।
उनीहरूले पालिकामा तालाबन्दीसहित मुल गेटमै शान्तिपूर्ण धर्ना जारी राखेका छन्।
मिलबाट कुनै केमिकल खोलामा जाँदैनः भागेश्वरी
भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिका कारण धानबालीमा क्षति पुगेको आरोप किसानहरूकाे छ। तर, कम्पनीले भने आफना कुनै उत्पादन सामाग्रीहरु खोलामा नजाने गरेको प्रतिक्रिया दिएको छ।
कम्पनीबाट निस्कने पानी प्रशोधन गरी खोलामा जाने गरेको प्रमुख कार्यकारी निर्देशक डीएन पाण्डेले बताए। उनले भने, ‘यहाँ प्रयोगमा ल्याइएका सम्पूर्ण कच्चा पदार्थहरु विक्री वितरण भइरहन्छन्। कुनै पनि फोहोर सामग्री तथा रसायनहरु यहाँ उत्पादन हुँदैनन्।’
उनले मिलबाट प्रशोधित भइ खोलामा जाने पानीमा कुनै पनि रसायन नहुने र खेतीका लागि उपयुक्त हुने गरेको बताए। उनले भने, ‘उख्खुबाट फोहोरका रुपमा आउने सामग्रीहरु मलका रुपमा प्रयोग ल्याउने गरिन्छ। पानी पनि प्रशोधन गरिएको हुँदा खेतीमा कुनै असर पार्दैन।’
उनले किसानहरु नकारात्मक नभए पनि मिललाई बन्द गराउन चाहने केही व्यक्तिहरुले अफवाह फैलाइरहेको बताए। त्यसको पुष्टि उनले प्रयोगशालामा भएको परीक्षणले पनि गरेको बताए।
चिनी उद्योगहरूबाट निस्कने फोहोरको लागि उद्योग विशिष्ट मापदण्ड २०६० मा सान्दर्भिक मापदण्ड र अनुमतियोग्य सीमाहरू तोकिएको छ। सो कम्पनीले ती मापदण्डविपरित कुनै काम नगरेको पाइएको प्रतिक्रिया दिए।
विज्ञ नहुँदा समस्याः कृषि ज्ञान केन्द्र
दूषित पानीका कारण धानबाली नष्ट भएको पुष्टि भएपनि यस प्रमुख कारण पत्ता लाग्न नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। ‘हामीले काठमाडौंबाट यस विषयमा विज्ञ व्यक्ति माग गरेका छौँ’ ज्ञान केन्द्रका जोशीले भने, ‘दूषित पानीले त धानबाली नष्ट भएको पुष्टि भएको छ तर, प्रमुख कारण के हो भन्ने पत्ता लाग्न सकेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।