काठमाडौं– रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन लगानी बोर्डले मलेसियन कम्पनीसँग सम्झौता गरेको छ। बुधबार लगानी बोर्डले मलेसियन कम्पनी रि निकोलासँग सम्झौता गरेको हो।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र रि निकोलाका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
रि निकोलाले वातावरणमैत्री प्रविधिमा आधारित रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गरी दुई वर्षभित्र प्रतिवेदन बोर्डलाई पेश गर्नेछ।
इलेक्ट्रोसिस प्रविधिमार्फत् तनहुँको आँबुखैरेनीमा वातावरणमैत्री एमोनिया र क्लाल्सियम एमोनियम नाइट्रेट स्थापना गर्ने प्रस्ताव मलेसियन कम्पनीले गरेको छ। यो मल कारखानाका लागि लागत करिब २६ करोड अमेरिकी डलर (करीब ३४ अर्ब ५० करोड रुपैयाँ) लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
यो कारखानाले वार्षिक ९५ हजार मेट्रिक टन ग्रिन एमोनिया र दुई लाख ८७ हजार मेट्रिक टन ग्रिन क्लाल्सियम एमोनियम नाइट्रेट उत्पादन गर्ने योजना छ। कारखानामा ऊर्जाका रुपमा विद्युत्को उपयोग गरिने बोर्डले जनाएको छ।
२०७९ पुस २४ गते मलेसियन कम्पनीले रासायनिक मल कारखाना स्थापनाका लागि बोर्डमा प्रस्ताव बुझाएको थियो। जसअनुसार २०७९ चैत ३० गते बोर्डले प्रस्तावक कम्पनीलाई अध्ययन अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।