काठमाडौं– आर्थिक वर्ष २०८०/२०८१ को पहिलो २ महिनामै नेपाल सरकारको सार्वजनिक ऋण ४९ अर्ब २३ करोडले बढेको छ। जसअनुसार नेपालको सर्वजनिक ऋण २३ खर्ब रुपैयाँभन्दा माथि लागेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले दिएको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म सरकारको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड माथि थियो। चालु आर्थिक वर्षका २ महिना (साउन र भदौ)सम्म यस्तो ऋण बढेर २३ खर्ब १० अर्ब माथि पुगेको हो।
सरकारले यसबीचमा ३८ अर्ब ७१ करोड ऋण भुक्तान पनि गरेको छ। नयाँ लिएको ऋण र भुक्तान गरेको ऋणको फरकलाई हेर्ने हो भने नेपालले थप ११ अर्बको भार बढाएको छ।
कुल २३ खर्ब माथिको ऋणमध्ये आन्तरिक ऋण ११ खर्ब ४० अर्ब रहेको छ भने बाह्य ऋण ११ खर्ब ६९ करोड रहेको छ।
सरकारले थपेको नयाँ ऋणमध्ये ४४ अर्ब आन्तरिक र करिब ४ अर्ब ९७ करोड बाह्य ऋण हो। सरकारले साउनमा १३ अर्ब ६ करोड र भदौ महिनामा ३१ अर्ब २० करोड आन्तरिक ऋण उठाएको थियो।
भुक्तानी गरेको ३८ अर्बमध्ये ३२ अर्ब ८३ करोड आन्तरिक ऋण र बाँकी बाह्य ऋण फिर्ता गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।