काठमाडौं– टर्कीमा गएको भूकम्पलाई आधार देखाएर नेपालमा ठगी भएको पाइएको छ। ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–५ लेखनाथ टोल घर भएकी ३२ वर्षीया सुरुची भुजेल छिन्।
सुरुचीले टर्कीको भूकम्पलाई देखाउँदै पोखराकै सिर्जनकुमार राईसहित ३० जनालाई ठगी गरेको पाइएको हो। उनले टर्कीमा गएको भूकम्प पश्चात पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने र पुनर्निर्माण कामका लागि टर्की पठाउने भनेर १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए।
टर्की पुनर्निमार्णका लागि मासिक १४ सय अमेरिकी डलर तलव हुने भन्दै उनले ३० जनाबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ लिएर ठगी गरेको खुलेको हो। ठगी आरोपमा कास्कीबाट पक्राउ परेकी सुरुचीलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।