काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढीरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्ने गरेको बताए। उनले जनताले जातिभन्दा पनि देशलाई सहयोग गरिरहेको बताए।
उनले भने, ‘मुस्लिम दाजुभाईहरुले एक भएर अघि बढे भने मलाई विश्वास छ, अवश्य नै कति साथीहरु चुनावमा मज्जाले जितेका छन्। धेरै साथीहरु चुनाव जितेका छन्। भोलि पनि जित्न सक्छन्। अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्नेभन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ। अहिले मान्छेले बुझेका छन्। हिजो अस्ति जातको कुरा भएपनि अब सबै हटिसकेको छ। जो विज्ञ छ, सेवा गर्छ,सहयोग, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ। यो राम्रो कुरा हो। जनताले जाति भन्दा पनि देशलाई सहयोग गर्नुभएको।’
सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भए पनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसावले आरक्षण गरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।