काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आएको बताएका छन्। आइतबार ओखलढुंगामा गुरु लुइटेल स्मृति पार्कको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो सरकार राख्न नहुने बताए।
‘तपाईंहरु भन्नुस् त, यस्तो सरकार बसिरहन हुन्छ? राख्न हुन्छ अब? तपाईं हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, सम्बोधनका क्रममा ओलीले भने।
ओलीले सरकारलाई नालायक भन्दै कटाक्ष गरे। भने, ‘जनता हेर्दैन। सुनतिर हेर्छ। ब्रेक सु ल्याउँछ- सुन। सिगरेट ल्याउँछ- सुन। पानी तान्ने मोटर ल्याउँछ- सुन। स्याउ ल्याउँछ- सुन। बुढाबुढीले उहिल्यै हामीलाई आशिक दिनुहुन्थ्यो- माटो छुँदा अन्न होस्, ढुंगा छुँदा द्रव्य होस् भनेर। अहिले जे छोयो, त्यही सुन हुने। माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी नेतृत्वको सरकार। परिवर्तनकारी नेतृत्वको सरकार। कस्तो? भ्रष्टाचारी। तस्करी।’
उनले सरकारले हिंसा मच्चाएको आरोप पनि लगाए। ‘मलंगवामा कर्फ्यू छ। साम्प्रदायिक विद्वेष भड्काइएको छ। विभिन्न तत्वहरूको घुसपैठ भइरहेको छ। सरकार देखेको नदेख्यै, कानमा तेल हालेर बसेको छ। देशमा हिंसा भड्काउने प्रयास भइरहेको छ। नेपाली जनतामा मारामार लगाउने काम भइरहेको छ। सरकार हेरेर बसिरहेको छ’, उनले भने।
अर्को प्रसंगमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रचण्डका कार्यकर्ता भएर पछाडि-पछाडि हिँडिरहेको बताए। ‘दिनको क्विन्टलका दरले सरकारले सुन तस्करी गर्छ, कांग्रेस अर्कातिर फर्केर 'देखेँ' मात्रै गर्छ’, ओलीको टिप्पणी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।