काठमाडौं– सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग गठनबारे दलहरुबीच भएको छलफलमा सत्तापक्षले तीन बुँदे प्रस्ताव राखेको छ।
गृहमन्त्रालयमा बसेको बैठकमा सत्तापक्षले आयोगले गर्ने कामबारे तीन बुँदे प्रस्ताव गरेको हो। प्रस्तावमा कानुन परिमार्जन गर्ने भए सुझाव पेस गर्ने, संरचना परिवर्तनका लागि सुझाव पेस गर्ने तथा सीआईबीको प्रतिवेदन अध्ययन गर्ने विषय समावेश गरिएको छ।
यो टिओरबारे प्रमुख प्रतिपक्ष दल एमालेले सहमति जनाउने वा नजाउने भन्ने विषयमा यकिन भएको छैन। यसबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर मात्रै निर्णय लिने एमालेले तयारी गरेको छ।
एमालेका सचेतक महेश बर्तौलाले ओली निवास बालकोट गएर उक्त टिओरको विषयमा एमालेको धारणा के हुने भन्ने विषय टुंगो लगाइने नेपाल लाइभसँग बताए।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका तर्फबाट रमेश लेखक, रास्वपाका सभापति रवि लामिछाने, जसपाका नेता प्रदीप यादवसहित छलफलमा जुटेका थिए।
उक्त छलफलमा सत्तापक्षले तीन बुँदे प्रस्ताव राखेको थियो। यसअघि शुक्रबार छलफल भए पनि सहमति जुट्न नसक्दा आयोग गठन हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।