काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारे। उनले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुर्याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे।
मन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडि बढ्ने बताए।
गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भिरतापूर्वक लिएको बताए। सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ति सेलाउने क्रममा हिन्दू युवाहरुमाथि सांघातिक हमला भएको थियो।
त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहेको उल्लेख गर्दै आवश्यक परेमा एक, दुई दिनमै नयाँ निर्णय लिइने बताए। उनले प्रहरी संयन्त्रको कमजोरी हुन नदिने पनि बताए।
गृहमन्त्री श्रेष्ठले आफूलाई अकस्मात रुपमा समितिको बैठकमा बोलाइएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभए पनि सांसदहरुले मन्त्री श्रेष्ठलाई बोलाउन माग गरेपछि समिति सभापतिले उनलाई बोलाएका थिए।
उनले समिति बैठकमा मन्त्रीलाई लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली अनुरुप बोलाउनुपर्ने बताए। मन्त्री भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।