काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न सांसदहरुलाई आग्रह गरेकी छन्।
आइतबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार ‘दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धी छलफलमा भाग लिने क्रममा उनले उक्त कुरा बताएकी हुन्।
मन्त्री शर्माले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचार उन्मुलन गरिदिन्छ भनेर नसोचेकोसमेत बताइन्। उनले सो आयोगले भ्रष्टाचारका काण्डहरु खोजिदिने, कारबाहीका लागि सरकारलाई सिफारिस गरिदिने उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने काम सरकारकै भएको स्पष्ट पारिन्।
मन्त्री शर्माले राम्रो कानून निर्माण गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने काममा राज्य व्यवस्था तथा सुशासन समितिले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरिन्। उक्त विधेयक राष्ट्रिय सभाले पारित गरेकाले त्यसले निकालेका निष्कर्षहरुलाई पनि संसदीय समितिले ध्यान दिनुपर्ने आवश्यक्तासमेत औंल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।