काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जानकी सिंहले संघीय सरकारमा कांग्रेस हुँदा पनि प्रदेशले अधिकार नपाएकोमा आक्रोश व्यक्त गरेकी छन्। पार्टी केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै सिंहले त्यस्तो आक्रोश पोखेकी हुन्।
संघीयता कांग्रेसले बोकेको अजेण्डा भए पनि प्रदेशलाई अधिकार नदिने भए खारेज गर्न चेतावनी समेत दिएकी उनले छन्। सो विषयमा संघका सांसद र नेताहरुले कुरा नउठाएको उनको दाबी छ।
‘किन चाहिँ संघका माननीयज्यूहरुले कुरा उठाउनु हुन्न? किन प्रदेशलाई आवश्यक कानुन बन्दैन? तुरुन्त संघले कानुन बनाउनुपर्छ। अधिकार दिनुपर्छ। संघमा अधिकार राख्ने हो भने प्रदेश खारेज गर्ने कांग्रेसले अजेण्डा बोक्नु पर्यो,’ सिंहले आक्रोश व्यक्त गरिन्।
साथै, उनले पार्टीले सो विषयलाई प्राथमिकताका साथ लिन पनि आग्रह गरेकी छन्। ‘होइन भने कार्यान्वयन गर्नका लागि हाम्रो पार्टीले हाम्रो नेताले प्राथमिकताका रुपमा बोक्नु पर्यो,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।