काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नै पार्टीका नेताहरू मन्त्री हुँदा समेत राम्रो काम गरे भनेर भाषण गर्न नपाएको बताएका छन्। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा आइतबार सम्बोधन गर्दै उनले सरकारमा बसिरहनु मात्रै उपलब्धि नभएको बताए।
'हाम्रो साथीहरु मन्त्रिमण्डलमा हुनुहुन्छ। कुनै पनि साथीले राम्रो काम गरेर देशभर मैले भाषण गर्न पाइनँ। मेरो साथी मन्त्री भएका कारणले यस्तो उपलब्धि भयो भनेर नेपाली कांग्रेसका कुनै पनि साथीले भन्न पाएको छैन', उनले भने, 'त्यसैले सरकारमा बसिरहनु मात्रै उपलब्धि होइन। सरकारमा बसेर पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्न जरुरी छ।'
पौडेलले कांग्रेसको बैठकले निर्णय गर्ने र प्रेस विज्ञप्तिमा सीमित राख्ने अवस्था हुन नहुने बताए। 'बैठकको निर्णयलाई सभापतिको नेतृत्वमा प्रधानमन्त्रीकहाँ गएर हामीले यो काम गर भनेर भन्न सक्नुपर्यो्। सरकारलाई निर्देशित गर्न सक्नुपर्यो,’ उनले भने।
पौडेलले गठबन्धन जोगाउनु मात्रै उपलब्धि नभएको बताए। उनले गठबन्धन गरेर सरकारमा गएपछि पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।