बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आइतबार) बेइजिङ आइपुगेका छन्। चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री प्रचण्ड आइतबार स्थानीय समयानुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन्।
प्रधानमन्त्री दाहालले आइतबार बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन्। चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सम्मेलनको आयोजना गरेका हुन्।
उक्त लगानी सम्मेलनमा नेपाल र चीनका १०० भन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुने बताइएको छ। सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।