काठमाडौं- चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गराएको अदालतको अवहेलना मुद्दा आइतबार सुनुवाइ हुन लागेको हो।
उक्त मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा दोस्रो नम्बरमा पेसी रहेको छ।
दाहालले द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठ १२ अवहेलनाको निवेदन दर्ता गरेका थिए। उक्त मुद्दा ६ वर्षदेखि सर्वोच्चमा एकपछि अर्को इजलासमा पेसी चढ्ने अनि थन्किने हुँदै आएको थियो।
सर्वोच्चले पाँच वर्षमाथिको मुद्दा भएकाले यसलाई अभियान फाँटमा राखेर सुनुवाइकलाई प्राथमिकता दिएको छ। प्राथमिकता पाएका कारण मुद्दाको पेसी दोस्रो नम्बरमा परेको छ।
प्रधानमन्त्री प्रचण्ड हाल मित्रराष्ट्र चीनको भ्रमणमा छन्। उनी संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका थिए। उतैबाट चीन भ्रमण गएका थिए।
अदालतले उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्षको रुपमा हेर्नेछ। उनले अदालतबाट भएको फैसलामाथि टिप्पणी गरेकाले अवहेलना ठहर गरेमा उनी नैतिक संकटमा पर्नेछन्।
उक्त विवादमा प्रधानमन्त्री प्रचण्डले लिखित जवाफ समेत पठाएका छन्। उनले आफ्नो लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको र संक्रमणकालीन न्यायको विषय अदालतबाट नभई अन्य संयन्त्रबाट टुङ्गो लाग्नुपर्ने भनेको बताउँदै गर्दै रिट खारेज हुनुपर्ने जिकिर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।