काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) बेइजिङ पुग्ने भएका छन्। शनिबार चीनको हाङ्चाओ शहर पुगेका प्रधानमन्त्री प्रचण्ड १९औं एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी भएका थिए।
प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११:१० बजे चीनको राजधानी शहर बेइजिङ पुग्ने कार्यक्रम छ। बेइजिङमा आइतबार हुने नेपाल–चीन व्यापार सम्मेलन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्। चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सो सम्मेलनको आयोजना गरेका छन्।
उक्त लगानी सम्मेलनमा नेपाल र चीनका १०० भन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ। उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ।
आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरिएको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।
त्यस्तै सोमबार प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नेछन्। सोमबार नै प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षी (चिनियाँ प्रधानमन्त्री) लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ।
उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ।
त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्किनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।