काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गरेकी छन्।
शनिबार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको २५५ औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण गरेकी हुन्।
स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी पाँडेको स्मरणमा उनको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा समेत अर्पण गरिन्। टिष्टुङ, पालुङ, दहचोक, गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए।
विस १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरेर काजी वंशराज पाँडे, तुलाराम पाँडे, केशरसिंह बस्न्यातसाथ पृथ्वीनारायण शाहले १ हजार गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवीतिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोकातर्फ अघि बढेका थिए।
राजा जयप्रकाश मल्ल खुशीसाथ इन्द्रजात्र मनाइरहेको समयमा गोरखाली आक्रमण हुँदा हतप्रद भएका थिए। अतः ४ घण्टासम्म अव्यवस्थित युद्ध लडेर ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागेपछि गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गरेका थिए।
सोही बेलामा बारुद जल्दा तुलाराम पाँडेसहितका केही सिपाही पिल्सिएर मृत्युवरण गरेका थिए। उनकै स्मरणमा आज स्मृति सभा मनाइएको हो। उनको कान्तिपुर राजदरबार हनुमान ढोकामा देहान्त भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।