डब्लिन– सभामुख देवराज घिमिरेले शुक्रबार आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गरेका छन्।
राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए। भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताएका थिए।
‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उनले भनेका थिए।
सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गरे। ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मुल्य मान्यताहरु हुन्। लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरु रहेका छन्,’ सभामुखको भनाइ थियो ।
सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रहरुमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। उनले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानूनी एवं नीतिगत सुधारहरु समेत भइरहेको बताएका थिए।
जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड उनले दिए। उनले आयरल्याण्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थीहरु आकर्षित भएको बताउँदै आवश्यक सहजीकरणका लागि आग्रह गरे।
भेटमा आयरल्याण्डका राष्ट्रपति हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकोबारे आफू जानकार रहेको बताउँदै प्राकृतिकरुपमा दुवै मुलुक धनी रहेको उल्लेख गरेका थिए। उनले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालायित रहेको बताए।
नेपाल–आयरल्याण्ड मैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने भनाइ उनकाे थियाे।
तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्याण्ड भ्रमणमा निस्किएका सभामुख घिमिरे आइतबार बिहान १०ः१५ बजे काठमाडौं फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।