काठमाडौं- गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूबीच बैठक सुरु भएको छ।
गृह मन्त्रीका प्रेस संयोजक कमल गिरीका अनुसार केही समयअघि सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक सुरु भएको हो ।
दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने विषयमा सात दलबीच दुई बुँदे सहमति भएको थियो। उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए।
सहमतिमा सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान सकिएर मुद्दा दायर भएपछि समिति गठन गर्ने भनिएको थियो। उक्त सहमतिअनुसार समिति गठनबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा छलफल भइरहेको छ।
सुन तस्करीसम्बन्धी मुद्दामा भने जिल्ला अदालत काठमाडौंमा बयान भइरहेको छ। जिल्ला अदालतले पक्राउ परेका प्रतिवादीसँग बयान लिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।