काठमाडौं– देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने घटना सार्वजनिक भइरहेका बेला गृह मन्त्रालयमा धार्मिक अगुवाहरूको छलफल भएको छ।
देशका केही ठाउँमा सद्भाव खल्बल्याउने छिटपुट प्रवृत्ति देखापरेको भन्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई शुक्रबार गृह मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।
छलफलका क्रममा गृहमन्त्री श्रेष्ठले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने बताए। उनले धार्मिक सद्भाव भड्काउने प्रयासको प्रशासनिक भन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने आफ्नो मान्यता रहेको श्रेष्ठको भनाइ थियो।
मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य भएको र अगुवाहरूको त्यस पहलले समुदायमा सचेतता फैलिने विश्वास समेत उनले व्यक्त गरे।
छलफलमा उपस्थित हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखहरूले धार्मिक सद्भावका लागि संयुक्त अपिल समेत जारी गरेका छन्।
धार्मिक अगुवाहरूले जारी गरेको संयुक्त अपिल:
नेपाल एक सार्वभौमसत्ता सम्पन्न बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भएको बेहोरा हामी सबैमा अवगतै छ। कुनै पनि धर्म, सम्प्रदाय, जाति, क्षेत्र एवं लिङ्गको आपसी सम्मान अभिवृद्धि गर्नु, आपसी सद्भाव कायम गर्नु, अर्को धर्म सम्प्रदायप्रति घृणा द्वेष फैलिने कुनै पनि कार्य नगर्नु, अर्को धर्म सम्प्रदायको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि गतिविधि नगर्नु हाम्रो धार्मिक संस्कारको मूल आधार विगतदेखि रही आएको छ। तथापि विगत केही दिनयता देशका विभिन्न भागमा धर्म, जाति, सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा र द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधिहरू गर्ने मात्र नभइ कतिपय ठाउँमा उच्छृङ्गल तथा अराजक रुपमा प्रस्तुत भइ फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार र प्रचलनमा आघात पुन्याउने गतिविधि देखा परेको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको इतिहास, परम्परा र विगतदेखि नै एक आपसमा मिलिजुली बस्ने सद्धभावपूर्ण समाजलाई विथोल्ने गरी धर्म तथा सम्प्रदायका नाममा हुने गरेका असंवैधानिक तथा गैरकानूनी क्रियाकलापप्रति हाम्रो गम्भीर असहमति रहेको छ। यस प्रकारका कुनै पनि असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा कोही पनि जान अन्जानमा सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्धभाव प्रबर्द्धन गर्न क्रियाशिल रहन सबैमा आह्वान गर्दछौं।
अपिलमा विश्व हिन्दु महासंघ राष्ट्रिय समिति, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति संगठन, हिन्दू जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल बौद्ध महासंघ, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज, नेपाल परम्परागत बौद्ध धर्म संघ, अखिल नेपाल भिक्षु महासंघ, इस्लामी संघ नेपाल, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम इत्तेहाद संगठन, मुस्लिम मुक्ति मोर्चा नेपाल, मर्कजी जमियत अहले हदिस, जमियत उलेमा-ए नेपाल, राष्ट्रिय क्रिश्चियन महासंघ नेपाल, नेपाल क्रिश्चियन सोसाइटी, नेशनल चर्च फेलोसिभ अफ नेपाल राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेशनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक संघ र नेपाल वाइबल सोसाइटीका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।