काठमाडौं- पूर्वसभामुख दमननाथ ढुङ्गानाले राजतन्त्र माओवादीले नभई बीपीको विचारबाट फालिएको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘बीपी कोइरालाको विचार हेर्नूस् त। उहाँले राजालाई संविधानसभा भित्र बस्छौ कि बस्दैनौ? भनेर समय-समयमा अल्टिमेटम दिनुभएको थियो। बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो। यो माओवादीले फालेको हो र? बिपीको विचारले फालेको हो,’ उनले भने।
बीपीको विचार संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा बसे राजतन्त्र फाल्न नहुने रहेको दाबी उनले गरे। उनले भने, ‘संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ, होइन भने फाल्छौँ भन्नुभएको थियो। त्यसकारण यो माओवादीले फालेको होइन।’
तर राजतन्त्र फालेर राम्रो नभएको उनले बताए। राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा आफू अडिग रहेको बताउँदै उनले भने, ‘फालेर राम्रो गर्यो त? त्यो पो चाहियो छ।’
उनले २०५२ सालदेखि २०८० सम्मको राष्ट्रिय समय खेर गएको पनि बताए। ‘मेरो अनुभवले यो भन्छ कि २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ। राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो? त्यो संविधानले सक्दैन थियो। राजासँग हामी लडेका थिएनौँ?,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।