काभ्रे– पनौती नगरपालिकाको हलमा सरकारपक्ष र प्रतिपक्षी ‘सांसद’बीच बहस चलिरहेको थियो।
सत्तापक्षीय दलकी ‘सांसद’ प्रतिपक्षी दलका सांसदलाई प्रतिप्रश्न गर्दै थिइन्, ‘तपाईं पनि एउटा जनप्रतिनिधि हो। अहिले जातीय र लैंगिक भेदभाव कति बढिरहेको छ? त्यो सुधार्नतिर लाग्नुस्।’
उनले सन्दर्भ जोड्दै विभिन्न उदाहरण पेस गरिन्, ‘व्यावहारिक ज्ञानले मात्र राजनीति सफल हुँदैन। राजनीति गर्ने मान्छे शिक्षित हुनुपर्छ।’
मञ्चमा सरकारपक्षको माथिल्लो सदन र सरकार पक्षको तल्लो सदन छुट्टिएको थियो। बहसमा उत्रिएका ‘सांसद’हरू बोलिरहँदा अर्कोले आपत्ति जनाउँथ्यो। ‘सांसद’हरू असहमति ध्यानपूर्वक सुनेर जवाफ दिन्थे। कहिलेचाहिँ आपत्ति भनेर हात उठाइहालेमा वक्ताले ‘बहिष्कार’ भन्दै आफ्ना कुरा राख्थे।
सुरुदेखि नै बहस सुनिरहेका दर्शकहरू आपसमा कुराकानी गर्दै भन्थे, ‘साँच्चै संसद भवनहरूमा यस्तो स्वस्थ बहस कहिले हुन्छ होला!’
अर्कोले भन्दै थिए, ‘विद्यार्थीहरूले सांसदहरूबाट सिक्नुपर्ने हो। तर हाम्रा सांसदहरूले बोल्नचाहिँ विद्यार्थीबाट सिक्नुपर्ने देखियो।’
सरकार पक्षीय र प्रतिपक्षका सांसद बनेर बहस गरिरहेका माविका विद्यार्थीहरू पनौती नगरपालिकाभित्रका स्कुलहरूबाट प्रतिनिधित्व गरेर प्रतिष्पर्धामा उत्रिएका थिए। पटक पटकको बहसबाट छानिएर आएका मध्ये चार स्कुलका विद्यार्थीबीच फाइनल प्रतिष्पर्धा थियो।
प्रतिष्पर्धीहरू प्रष्ट र प्रखर वक्ताका रुपमा प्रस्तुत भएका थिए।
संसदीय बहसको अभ्यास सकिनासाथ प्रतिपक्ष बनेकाहरूले सत्तापक्षसँग आत्मीयता साटासाट पनि गरे।
शनिबार र आइतबार पनौती नगरपालिकामा भएको २ दिने ‘क्लासिक एकेडेमी फेस्ट २०८०’को दृश्य हो यो। तर दृश्य संसदीय बहसको मात्र थिएन।
सामुदायिक बोर्डिङ स्कुल र नगरपालिकाका विभिन्न कोठाहरूमा विविध विधाका विद्यार्थीहरू हुटहुटीका साथ बसिरहेका थिए। कविताको कोठामा कोही विद्यार्थी झ्यालबाहिरबाट पनौतीको फाँट नियालिरहेका थिए। कोही विद्यार्थी कविताको पंक्तिहरू उत्साहका साथ लेखिरहेका थिए। ‘मातृभूमि’माथि उनीहरू कविता लेख्दै थिए।
कुनै कोठामा निबन्धको हरफ कोरिँदै थिए त कुनै कोठामा कथाका तान बुनिइरहेका थिए। कुनै कोठामा रङ र कल्पनाको संयोजनबाट सुन्दर चित्रहरूले आकार लिँदै थिए। कुनै कोठामा हिज्जे र हाजिरी जवाफमार्फत् आफूभित्रको ‘गुगल’लाई प्रतिष्पर्धीहरू छामिरहेका थिए। वक्तृत्वकलाको सेसनमा विद्यार्थीहरू आफ्नो वाक् कलालाई आत्मविश्वासका साथ तिखारिरहेका थिए।
मेलामा सहभागी भएर कथा लेखनमा प्रथम भएकी सफलता स्याउलाको लागि यो परिणाम अनपेक्षित थियो। ‘म कथा उपन्यास पढ्थेँ। तर यसरी लेख्न सक्छु भन्ने विश्वास यहाँ आएपछि भयो,’उनले भनिन्।
कविता वाचनमा सहभागी भएका छात्र समीर बोलखेलाई पनि यसपालिबाट कविता लेख्ने आत्मविश्वास बढ्यो। ‘अब त लेख्न सक्छु भन्ने लागेको छ। राम्रो लेख्नका लागि राम्रा पुस्तक पढ्नुपर्छ भन्ने पनि ठानेको छु।’
मेलाबाट कतिपय विद्यार्थीहरूले आफ्नो प्रतिभालाई चिने, त कतिपयले आफ्नो रुचिलाई व्यक्त गर्ने अवसर पाए।
मानसिक स्वास्थ्यका कुरा
‘कठै! हामीले त पढ् मात्र भन्छौँ बच्चाहरूलाई,’ विद्यार्थीहरूले गरेको नाटक हेरिरहेका एक अभिभावकले अर्कोसँग संवाद गरे, ‘किन विद्यार्थीहरूले आत्महत्या गर्दा रैछन् त। यिनीहरूले छर्लंगै बनाए।’
आइतबार फाइनलमा पुगेका ५ समूहबाट विद्यार्थीहरूले नाटक प्रस्तुत गरेका थिए। उनीहरूले मानसिक स्वास्थ्यमाथिको सवाललाई उठाएका थिए। उनीहरूको नाटकले प्रवाह गरेको सन्देश थियो, 'अभिभावकले सन्तानलाई गृहकार्य गर्न मात्र दबाब दिइरहनु, रिजल्टमा आउने अंकमा मात्र चासो राख्नुमात्र जिम्मेवारी हैन। उनीहरू कुन मनस्थितिबाट गुज्रिरहेका छन्, त्यो कुरामा ध्यान दिनु, उनीहरूसँग निरन्तर संवाद गर्नु र अवस्थालाई बुझ्नु असल अभिभावकको धर्म हो।’
बालबालिका कसरी दुर्व्यवहारको सिकार भइरहेका छन्? नाटकमा विद्यार्थीहरूले कलात्मक ढंगले यसलाई प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूका लागि हरेक विधाको कक्षामा कार्यशाला पनि सञ्चालन पनि गरिएको थियो।
शैक्षिक विकासमा जोड
नगरपालिकाका प्रमुख रामशरण भण्डारी आइतबार दिनभरि विद्यार्थीहरूको प्रतिभालाई नजिकबाट नियालिरहेका थिए। व्यस्त समयतालिकालाई पन्छाएर त्यो दिन बालबालिकाहरूकै प्रस्तुतिमा रमाउन आइपुगेका थिए उनी। नगरका अन्य प्रतिनिधि पनि कार्यक्रममा थिए। ‘समय त प्याक छ। सबै कार्यक्रम छाडेको छु। तर जनप्रतिनिधि बालबालिकाको अभिभावक पनि हो। हामी बस्दा मात्र पनि उहाँहरूमा उत्प्रेरणा मिल्छ,’ नगरप्रमुख भण्डारीले भने।
उनी यो शैक्षिक मेलालाई नगरपालिकाले नेतृत्व लिनुको कारण पनि खुलाउँछन्। ‘हामीले विद्यार्थीको व्यक्तित्व विकासमा योगदान पुर्याउन सक्यौँ भने भोलि स्वस्थ समाजको निर्माण हुन्छ। पालिका आफैंले इनिसियसन लिँदा यसको महत्व बढेर जान्छ,’ उनी भन्छन्।
यो कार्यक्रमबाट संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरूको अन्तरघुलन भएको अनुभव उनले गरेका छन्। नगरप्रमुख भण्डारी भन्छन्, ‘यो कार्यक्रमलाई हामी निरन्तरता दिन्छौँ।’
मेलामा नगर बालक्लब सञ्जालका सदस्यहरूको विशेष अग्रसरता थियो।
नगरपालिकालाई ‘क्लासिक एकेडेमी फेस्ट २०८०’मा प्राविधिक सहयोग बहसकर्ता नेपाल र दिगो विकासका लागि राष्ट्रिय युवा सन्जालले गर्यो। बहसको थालनी बहसकर्ता नेपालले सन् २०१७बाट गरेको थियो।
‘हरेक विद्यार्थीले आफ्नो रुचि पहिल्याउन् र प्रतिभालाई निखारून् भन्ने उद्देश्यले यसको सुरुवात गरेका हौँ,’ बहसकर्ता नेपालका प्रतिनिधि धीरज जोशीले भने।
कार्यक्रम संयोजक सञ्जीव न्यौपानका अनुसार काभ्रेमा यो फेस्टको विभिन्न संस्करण यसअघि पनि आयोजना गरिएको थियो। ‘यो कार्यक्रम निकै प्रभावकारी देखियो। यो अभ्यासलाई हामी अन्य नगरपालिकामा पनि निरन्तरता दिनेछौँ,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।