काठमाडौं– संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि स्थगित भएको बीपी साहित्य महोत्सवको कार्यक्रम असोज ३ गते, संविधान दिवसका दिन हुने भएको छ।
नेपाली कांग्रेसको आयोजनामा भदौ २४ देखि २६ गतेसम्म सञ्चालन हुने गरी तय भएको साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम नेम्वाङको निधनको शोकमा स्थगित भएको थियो।
स्थगित भएको अन्तिम दिनको कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते हुने नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
असोज ३ गते संविधान दिवस परेको र सोही दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०:३० बजेदेखि साँझ ५:०० बजेसम्म महोत्सवअन्तर्गतको कार्यक्रम हुने विश्वकर्माले जानकारी दिए।
कार्यक्रममा बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबार्ल्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी तथा बीपीको विचार, आजको संविधान र अबको बाटो लगायतका शीर्षकमा अन्तर्किया हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।