काठमाडौं– शुक्रबार राति काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको प्रमुख कारण मोटरसाइकलको ठक्कर रहेको पाइएको छ।
हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका बोल्न नसक्ने व्यक्तिले मोटरसाइकलले ठक्कर दिएपछि हत्यासम्मको अवस्थामा पुगेको बयान दिएका छन्।
केही दिनअघि मोरङका नवीन राईले चलाएको मोटरसाइकलले अभियुक्तलाई चाबहिलमा ठक्कर दिएको थियो।
नवीन राई बस्ने गरेको ठाउँ खोज्दै अभियुक्त स:मिलमा पुगेका थिए। तर त्यहाँ नवीनले चोर्न आएको भनेपछि दुईजनाबीच विवाद भएको थियो। त्यही विवादले उग्ररुप लिँदा अभियुक्तले झोलामा राखेको खुकुरी निकालेर नवीनको हत्या गरेका थिए।
त्यसपछि फर्किने क्रममा तल्लो तलामा बसेका भुजेल परिवारले थाहा पाउँछन् भन्ने डरले उनीहरुको पनि हत्या गरेको पाइएको छ।
प्रहरीले आइतबार सीसीटीभी फुटेजका आधारमा ती बोल्न नसक्ने व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परिसकेपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेख्दै अपराध स्वीकार गरेका छन्।
उनी सिन्धुपाल्चोकका रहेको बताइएको छ। साथै उनले सांकेतिक भाषामा कक्षा १२ समेत पास गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।