काठमाडाै- अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताए ।
लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री महतले यो परियोजनालाई अगाडि बढाउन आफूले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको दावी गरे । यद्यपि यसका लागि धेरै पैसा लाग्ने उनले बताए । उनले हाम्रो श्रोतले नपुग्न सक्ने र यो परियोजना निर्माणका लागि चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएकाे उनले चीनवाट सकारात्मक जवाफ आएको पनि बताए ।
‘दुवै देशका विचमा पत्रको आदान–प्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो ’ उनले भने ‘हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी लागेका छौं । प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।’
प्रारम्भिक अध्ययन भइसकेको जानकारी दिदै मन्त्री डा. महतले ‘अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्ने बताए ।
सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुराउनु पर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ ’ उनले भने ‘ निर्माणको काम भौतिक मन्त्रालयले, श्रोत जुटाउने काम अर्थमन्त्रालय र वातावरणसम्बन्धी के असर पर्छ भनेर अनुमति लिने काम वन मन्त्रालयबाट भएको जानकारी दिनु हुँदै उहाँले भन्नुभयो, ‘यहाँ तिनवटै मन्त्रालयले आएर हेरेको छ । निकुन्जमा पनि समस्या छैन भन्ने कुरा आएको हुनाले निर्माण कार्य अगाडि बढ्छ ।’
सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र होइन, रसुवा नाकासम्म स्तरोन्नति हुने उनले बताए । पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुने मन्त्री डा महतले बताए । यसले नुवाकोट जिल्लाभरि नै आर्थिक गतिविधि बढ्ने र रोजगारी सिर्जना हुने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।