काठमाडौं- शनिबार बिहानै काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सः फर्निचर मिलमा चार जनाको शव भेटियो । मिलमा विभत्स रुपमा हत्या गरिएको अवस्थामा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका र ७६ वर्षीया आमा सुमित्रा रहेका छन्।
कुमारको परिवारबाहेक त्यहाँ मोरङका बेलबारीका १९ वर्षका नवीन राईको पनि शव भेटिएको थियो।
प्रहरीका अनुसार हत्या भएका सबैको टाउकोमा धारिलो हतियार प्रहार गरिएको छ भने शरीरका विभिन्न अंगमा पनि चोट देखिएको छ। हत्या राति करिब १२ बजे नै भए पनि रिङरोडकै छेउमा रहेको व्यस्त बस्तीमा हत्याबारे कसैले सुइँको समेत पाएनन्। अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेपछि मात्रै घटना बाहिरिएको थियो।
उक्त हत्याको अनुसन्धानका लागि प्रहरीले धनकुटाका २४ वर्षीय दीपेन्द्र राईसहित चार जनालाई नियन्त्रणमा लिएको छ। घटनापछि राई आफै ट्याक्सीमा तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेर घटनाबारे जानकारी गराएका थिए। तर उनको लुगा र जुत्तामा रगत देखिएपछि सोधपुछका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने लगायतको काम सकेर शव पोस्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। तालिमप्राप्त कुकुरसहित प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। कुकुरले हत्यामा संलग्न व्यक्ति भक्तपुरतिर भागेको देखाएको छ ।
शनिबार नै गाउँ फर्किने तयारीमा थिइन् सुभद्रा
सामूहिक हत्याकाण्डमा मारिएकी फर्निचर मिलका सुरक्षा गार्ड कुमारकी ७६ वर्षीया आमा सुभद्रा चार दिन अघिमात्रैै दोलखाबाट काठमाडौं आएकी थिइन्।
घटनास्थलमा बुहारी चण्डिकाले दिएको जानकारी अनुसार सुभद्रा श्रीमानको श्राद्धका लागि भदौ २६ गते काठमाडौं आएकी उनी बिहीबार श्रीमानको श्राद्ध सकेर बालुवाटास्थित कान्छो छोराकहाँ गएर बसेकी थिइन्। उनी शुक्रबार मात्रै उनी तीनकुने आएको बुहारी चण्डिकाले बताइन्।
उनी आजै (शनिबार) नै गाउँ फर्किने तयारीमा थिइन् । बुहारी चण्डिकाले भनिन्, 'आमा र जेठानी दिदी (अम्बिका) पनि मेरो कोठामा आउनुभएको थियो। कुशे औँसीमा श्राद्ध गर्न गोकर्ण आउनुभएको थियो। दुई रात कान्छो छोराकहाँ बस्नुभयो। हिजो शुक्रबार छोराकोमा बस्न आउनुभएको थियो।'
उनले सासु सुभद्रा शनिबार बिहानै दोलखा घर जाने तयारीमा रहेकाे समेत बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।