काठमाडाैं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा दलीय स्वार्थ हावी हुन नहुने बताएकी छन्।
शुक्रबार बाल दिवसको अवसरमा मदन भण्डारी मेमोरियल स्कुल जोरपाटीमा आयोजित कार्यक्रममा उनले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोमा जाने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्नु हुँदैन, शिक्षा भनेको विकासको पहिलो पूर्वाधार हो, त्यसैले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोतर्फ जान्छ।' उनले राष्ट्रिय शिक्षा नीति बनाउँदा पार्टीको चस्मा लगाउन हुँदैन भन्दै राष्ट्रको चस्मा लगाएर शिक्षा नीति बनाउनु पर्ने औँल्याइन्।
संविधानले सोचे जस्तो शिक्षा दिन नसकिए देशको अवस्था सुधारिँदैन भन्दै उनले युवा शक्तिको विदेश पलायन रोक्न उचित र स्वदेशमै काम लाग्ने शिक्षा दिन आवश्यक रहेको बताइन्। 'हाम्रो देश कृषि प्रधान देश हो, वन जङ्गलको धनी देश, जलस्रोतको धनी देश हो, उर्वर भूमि हामीसँग छ, तर खाद्यान्न विदेशबाट ल्याउनु पर्ने अवस्था छ', पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'खेतबारी बाँझै छन्, कृषिमा काम गर्नेलाई हेला गर्ने सोच हामीसँग छ । अतः यस्तो सोचलाई अब अन्त्य गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।