काठमाडौं- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा विधेयको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। शिक्षक र विद्यालयका कर्मचारीको मुलभूत मुद्दाहरुलाई सम्बोधन नगरिकन संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले सरकारकै कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको बताइन्। उनले पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको जानकारी दिइन्। तुलाधरले शिक्षककहरुलाई पञ्चायतकाल भन्दापनि अंकुश लगाउने गरी ऐन प्रस्तुत भएको बताइन्। उनले ऐनमा संघ सरकारले शिक्षकको तलव भत्ता सुनिश्चित गरेपनि दरबन्दी मिलानका क्रममा पालीकालाई अधिकार दिइएको भन्दै आपत्ति जनाइन्।
तुलाधरले एउटा पालिकाले अर्को पालिकामा सोझै सरुवा गर्ने प्रावधानहरू ऐनमा उल्लेख भएको भन्दै यो विषय संसोधन हुनुपर्ने बताइन्। उनले पुरानै प्रणाली अनुसार पेन्सन पाउनुपर्ने माग पनि अगाडि तेर्स्याइन्।
अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायीत्वको सवालमा शिक्षा ऐन नबोलेको शिक्षकहरूको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।