बाल्यकालमा आँखा चिम्लनासाथ उनी धेरै थोक बनिसक्थे। कहिले हिरो बनेर पर्दामा आफूलाई नाचिरहेको पाउँथे। कहिले ब्रिटिस लाहुरेहरूको लाइनमा उभिएर लाहुर हिँडिरहेको। कहिले स्टेजमा चढेर गाना गाइरहेको। कहिले किसान बनेर बाली उब्जाइरहेको।
तर उनको दिलचस्पीचाहिँ नाच्नमा थियो। पारी गाउँमा बजेको गीत माइकबाट सुनिन्थ्यो। उठेर नाचिदिन्थे। अंकलहरूले उक्साउँदै भन्थे, ‘नाच जगदिश नाच।’
उनी झन्झन् नाच्थे। र नाचेर कहिल्यै थाक्दैनथे। जुन कुरामा उनी कहिल्यै थाकेनन्, त्यसलाई जीवनको गन्तब्य मानेर अनवरत हिँडिरहे।
कोरियोग्राफर जेडी तमुले एक भेटमा पुराना दिनहरूबारे सम्झिएका थिए। आफू हिँडेको बाटोमा आएका आरोह र अवरोहबारे सुनाएका थिए।
०००
उनी गीत पनि गाउँथे। कक्षा १२ पढ्दाताका एकदिन भोकल कक्षा जोइन हुन उनी इलामबाट झापा पुगे। जुन ठाउँमा भोकल सिक्थे, त्यहाँ डान्स पनि सिकाइँदो रहेछ। उनलाई त्यसअघि महोत्सवमा भएको नृत्यले खुबै आकर्षित गरेको थियो। सोचे, ‘अब डान्स पनि सिक्छु।’
तर सिक्नका लागि पैसा चाहिन्थ्यो। घरको आर्थिक अवस्था कमजोर थियो। ‘खाजा खान दिनुभएको पैसा जोगाएको थिएँ। त्यही पैसाबाट कक्षा जोइन गरेँ,’ उनी सम्झन्छन्।
डान्स सिकेको कुरा एकदिन जेडीको आमाले थाहा पाइन्। थाहा पाएको दिन ‘छोरा बिग्रियो’ ठानेर निकैबेर रोइन्। ‘दु:ख गरेर पढाएको छोरा नाचेर हिँड्नेभयो,’ गाउँका मानिसहरूले मसला थप्दै भन्न थाले।
तर जेडीलाई रोकिनु थिएन। उनलाई अझै धेरै सिक्नु थियो। उनको सपना अब कलकत्तासम्म फैलिएको थियो। १ वर्ष आमालाई सम्झाउनमै बित्यो। ‘आमाले बुझ्नुभयो। अनि कलकत्ता जाने अनुमति दिनुभयो,’उनी सम्झिन्छन्। त्यसपछि जेडी कलकत्तातर्फ लागे।
०००
न अंग्रेजी राम्रो। न अन्य भाषामा पकड। कलकत्ताका सुरुवाती दिन उनका लागि सकसलाग्दा थिए। उनी पदातक कम्पनीका जागिरे थिए। कम्पनीमा डान्स सिकेर कम्पनीकै लागि डान्स गर्नुपर्दथ्यो। विस्तारै घुलमिल हुँदै गएपछि जेडी रमाउन थाले।
तर जब जब डान्स गर्दागर्दै घाइते हुन्थे र बिरामी पर्दथे। त्यतिबेला घरको खुब याद आउँथ्यो उनलाई। एकपटक ढाडमा चोट लागेर एक महिना आराम गर्नुपर्दा उनी थुप्रैपटक रोए। डायरीमा नोट बनाए। नोट बनाउँदा नोटमै आँसु तप्प तप्प चुहिन्थे पनि।
कहिले त सोच्थे, ‘म फर्कन्छु।’ तर सपना मारेर फर्कन मनले कहाँ दिन्थ्यो र! आफूले आफैंलाई सम्झाए। साथीहरूले पनि साथ दिए।
तीन वर्षपछि सन् २०१४को अन्तिमतिर उनी घर फर्किए। फर्कँदा धेरै सपना बोकेर फर्किएका थिए। ‘मलाई लाग्थ्यो नेपालमा गएर अब म डान्समा धेरै परिवर्तन ल्याउन सक्छु। डान्स स्कुल खोल्छु। तर जुन रफ्तारमा आएको थिएँ। त्यो रफ्तार नेपाल फर्केपछि ब्रेक भयो,’ जेडी सुनाउँछन्।
१ वर्ष उनी झापामै रुमल्लिए। त्यहीबेला उनको भेट कवि प्रकाश आङदाङ्बेसँग भयो। प्रकाशले जेडीलाई फोटोग्राफीसँग नजिक्याए। त्यही क्रममा जेडीले केही म्युजिक भिडिओमा पनि काम गरे।
झापाबाट काठमाडौं आएपछि सुनिल पोखरेलसँग नाटकको कक्षा पनि लिए। नेपालमा २ वर्ष बस्दा उनलाई लाग्यो, ‘डान्समा मैले सिक्न अझै बाँकी छ।’
उनलाई अब मुम्बई गएर ‘कन्टेम्पोररी डान्स’ अझै गहिराइमा सिक्नु थियो। त्यतिबेला उनलाई आफ्नो अभिव्यक्ति ‘कन्टेम्पोररी डान्स’मार्फत् गर्दा प्रभावकारी हुन्छ भन्ने विश्वास थियो। किनकि कलकत्तामा हुँदा उनले त्यो तय गरिसकेका थिए।
उनी मुम्बई गए।‘
मुम्बईले मलाई डान्सभन्दा बढी जीवन सिकायो,’ जेडी भन्छन्। मुम्बईको टेरेन्स स्कुलमा उनले २ वर्ष डान्स सिके। ‘स्कुलबाट राम्रा डान्सरहरू सेलेक्ट गरेर प्रस्तुतिका लागि लैजान्थे। म सधैंभरि पहिलो प्राथमिकतामा पर्थेँ,’ जेडी भन्छन्।
२ वर्षपछि कोर्स सकेर उनी नेपाल फर्कने योजनामा थिए। त्यहीबेला भारतको म्युजिकल शो डिज्नी प्रोडक्सनको अलादिनमा अडिसन दिन साथीहरू जाँदै रहेछन्। साथीहरूको आग्रहपछि उनी पनि गए। उनी छनोट भए। ३ महिनाको त्यो शोमा उनी फ्रन्टलाइनर डान्सर थिए।
बिडम्बना! उनी डान्स गर्ने क्रममा स्टेजमै लडे। अचेत भएर २ दिनसम्म जेडीको आइसीयुमा राखेर उपचार भयो। के भएको हो, समस्या पत्ता लाग्न सकेको थिएन। ‘सबै ठीक छ भन्छन्। तर केही ठीक थिएन। त्यस्तो अवस्थामा मुम्बई बस्न सक्ने थिइनँ,’ उनी सम्झिन्छन्। जेडीले प्रकाश आङ्दाम्बेलाई फोन गरे। प्रकाशले प्लेनको टिकट काटिदिए। जेडी नेपाल फर्किए।
नेपालमा उपचारका लागि उनले नधाएको अस्पताल सायदै थिए। तर रोग पत्ता लागिरहेको थिएन। पछि मनोचिकित्सकसँगको परामर्शपश्चात् थाहा भयो, उनलाई एन्जाइटी डिसअर्डर भएको रहेछ। ‘म मर्दैछु जस्तो मात्र लाग्थ्यो। तर बाँच्ने चाह बढेर आउँथ्यो। आफूलाई बलियो बनाउने उपाय खोज्न थालेँ,’ उनी सम्झिन्छन्।
उनलाई अध्यात्मले डोहोर्यायो। विस्तारै आफूभित्रको डर मर्दै भयो। आफूभित्रको समस्यालाई पराजित गर्दै लगे। त्यसपछि पुन: नृत्यलाई अगाडि बढाए। त्यसपछि त उनलाई रियालिटी शोहरूमा कोरियोग्राफीका लागि प्रस्ताव आउन थाले। थिएटरहरूमा डान्स सिकाउन थाले। नेपालको नृत्य क्षेत्रमा कन्टेम्पोररी डान्सलाई उनले थप चिनाउँदै लगे।
डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ सिजन २ मा उनले पनि भाग लिए। उनलाई रियालिटीशोको प्रतिष्पर्धामा उस्तो चासो थिएन। ‘तर मैले जुन फिल्ड रोजें। त्यो कुरा बा आमाले देख्न पाएनन् भने। आफन्तहरूले भन्थे– १५ वर्ष नाँचे भन्छस्। टिभीमा आउँदिनस् त। सुन्दा हो जस्तो लाग्यो। परिवारले नै चिन्दैन भने मलाई संसारले चिनेर के भयो ,’ उनले सोचे।
त्यसपछि रियालिटी शोमा जेडीले भाग लिए। उनलाई आम दर्शकहरूले चिन्न थाले।
अहिले जेडी एउटा नाटकको तयारीमा छन्। डान्स र एक्टिङ सहितको नाटक। त्यसको निर्देशन गर्दैछन् उनी। ‘सपना देखेर मात्र नहुने रहेछ। त्यसलाई विस्तारै पूरा गर्नुपर्ने रहेछ,’ जेडी भन्छन्, ‘विस्तारै म त्यो पूरा गर्दैछु।’
जेडीको नाटक ‘ब्यूँझिएको सिरानी’ १६ असोजदेखि मण्डला नाटकघरमा मञ्चन हुनेछ। ‘मैले भन्न नपाएका कुराहरू यो नाटकमार्फत् भन्नेछु। मेरो लागि यो विशेष हुनेछ,’उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।