बैतडी– जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सकहरु पनि आन्दोलित भएका छन्।
हेटौँडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण भएको भन्दै दोषीलाई कारबाहीको माग गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।
अस्पतालमा कार्यरत डाक्टरहरुमाथि भएको आक्रमणको निन्दा गर्दै बैतडी अस्पतालमा कार्यरत चिकित्सकहरुले बिहीबार कालोपट्टी बाँधेर विरोध गर्नुका साथै स्टेथस्कोप जिल्ला प्रशासन कार्यालयमा बुझाएको डा. धिरज जैसवालले बताए।
डाक्टरहरुमाथि लामो समयदेखि आक्रमण हुँदै आएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभूति नहुँदासम्म बिरामीको चेकजाँच गर्न नसिकने चिकित्सकहरुले प्रशासनलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ।
जिल्ला अस्पताल बैतडीमा शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द रहने निर्णय भएको डा. जैसवालले जानकारी दिए। दोषीमाथि कारबाही नहुँदासम्मका लागि आन्दोलनका कार्यक्रम तय भएको विषयमा स्थानीय प्रशासनलाईसमेत जानकारी गराइएको छ।
चिकित्सकहरुले आफूहरुलाई कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनपर्ने माग गरेका छन्। जिल्ला अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द रहने भएपछि बिरामीहरु भने मार्कामा पर्ने देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।