काठमाडौं- हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट घटनाका दोषीलाई कारबाहीको माग गर्दै त्यहास्थित चिकित्सकहरु आन्दोलित भएका छन्।
हेटौंडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै अगाडि सुरक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्।
डा विकास थापा र डा प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा बुधबार आक्रमण भएको थियो। गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको परिवारको आशंका थियो। अस्पतालमा जाँच गर्दा डेंगु नेगेटिभ देखिएको थियो।
तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्ट माथि शंका लाग्यो र उनीहरुले अन्यत्र लैजाने भनेपछि अस्पताले पनि २३ साउन अर्थात् भोलिपल्ट डिस्चार्ज गरिदियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए। तर २५ भदौमा प्रधानको मृत्यु भयो। सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने भएको आरोप मृतकका परिवारको छ।
चिकित्सकमाथि आक्रमण भएपछि घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको माग गर्दै आन्दोलनका घोषणा गरेका हुन्।
उनीहरुले २४ घण्टाभित्र घटनामा संलग्नलाई कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिएका छन्।
यसैबीच हेटौंडा अस्पतालका डाक्टरहरुले सामूहिक राजिनामा लिएका छन्। हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा कार्यरत डाक्टरहरुले शान्ति सुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा दिइसकेको बताए।
डाक्टरमाथि कुटपिट भएपश्चात जिल्ला प्रहरी कार्यालयमा बुधबार दुवैपक्षबीच छलफल भएको थियो। प्रहरीले उजुरी नपरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।